हामीसँगै छ हाम्रो इतिहास

नदीश

तिमी भारतमा लुम्बिनी बनाऊ
खोज कोही सुद्धोधन र मायादेवी
गरिदेऊ विवाह
जन्मेला कुनै सन्तान
या त गराइदेऊ कृत्रिम गर्भाधान
जन्माइदेऊ कुनै पुत्र
र गरिदेऊ नामाकरण ‘गौतम बुद्ध’
हामीलाई कुनै गुनासो छैन
बरु उल्टै सुनाइदिउँला विश्वलाई
हालसालै एउटा अर्को गौतम बुद्ध
भारतमा पनि जन्मिएको छ

तिमी चीनमा सोलुखुम्बु बनाऊ
बनाऊ एउटा राष्ट्रिय निकुन्ज
अनि ठड्याऊ एउटा अग्लो पहाड
छरिदेऊ त्यसमाथि कृत्रिम हिउँ
र चुनिदेऊ कुनै नाम
चोमोलोङ्गमा, माउन्ट एभरेष्ट या सगरमाथा
हामीलाई कुनै चिन्ता छैन
बरु उल्टै भनिदिउँला दुनियाँलाई
हालसालै एउटा अर्को सगरमाथा
चीनमा पनि ठडिएको छ

तिमी निस्फिक्र जन्माऊ तिम्रो गौतम बुद्ध
तिमी निश्चिन्त ठड्याऊ तिम्रो हिमाल
हामी गर्दैनौँ कुनै प्रतिकार
हामीलाई राम्रोसँग थाहा छ
हामीसँगै छ हाम्रो आफ्नो सगरमाथा
हामीसँगै छ हाम्रो आफ्नो लुम्बिनी
हामीसँगै छ हाम्रो आफ्नो इतिहास

हामी मजदुर हौं

किशोर चाम्लिङ

यो देशको निर्माण गर्ने
हामी मजदुर हौं
विकासको मूल फुटाउने
हामी मजदुर हौं
देशकै लागि यो जीवन दिने
हामी मजदुर हौं

दुनियालाई बदल्न सक्ने
हामीमा तागत छ
मरेर पनि बाँचिरहने
शहिदको रगत छ
हामी आफ्नै श्रम र सीपले
यो धर्ती िसंगार्छौं
पसिनाले िसंचेर माटो
अमूल्य बनाउँछौं

कसैको दासी बन्दैनौं हामी
अन्याय सहन्नौं
पौरखले बाँच्छौं कसैको सामु
कहिल्यै झुक्दैनौं
सुस्ताएर बस्दैनौं हामी
शिखरमा पुग्नु छ
आफ्नो अधिकार लिनलाई अब
एक भई जुट्नु छ

खुट्टा तान्नेहरू

घनश्याम परिश्रमी

जब माथि चढ्न थाल्छन् जान्नेहरू
तल हाजिर हुन्छन् खुट्टा तान्नेहरू

अनायासै आज निर्वस्त्र देखिए
हिजोसम्म लाज-सरम मान्नेहरू

पात्र उपहासको पो भएका छन्
परम्परा जुन पुरानै धान्नेहरू

समाजको रथ स्वयं हाक्न खोज्छन्
कुरा ठूला गरी लङ्का हान्नेहरू

छद्मभेषी आजभोलि बढेका छन्
अलपत्र पर्छन् आफ्नै ठान्नेहरू

पागल परिवेश

जीवन चाम्लिङ

आँधीले युद्ध गरेको
परिवर्तनको यो समय पर्खालभित्र
त्यो शहरमा
त्यो गाउँमा
त्यो बस्तीमा
त्यो हृदयहरुमा
झरनाको मीठो सुसेली जस्तै
कन्चन हुनुपर्छ विचार र आकांक्षाहरु
पाखाहरुमा फुल्ने लालीगुराँस र
एकलासको सुनाखरी जस्तै
प्रसन्न हुनुपर्छ
प्रत्येक त्यो रक्तिम बिहानीहरु
तर
सभ्यताको यो युगमा
घाइते संसारभैष
मान्छेको शब्द बेचेर
सत्य मान्छे हुन नसक्दा
बलात्कृत चेलीको
अस्मितामाथि नपरी सहवास गर्दै
राष्ट्रियतालाई जोर लात मार्नमै
खुसी हुन्छन् मान्छेहरु ।

इतिहासले कोल्टे फेरेर
परिवर्तनको अन्तरालमा
मान्छेले पुर्खाको बिडा थाम्नु पर्ने
इतिहासको गाथा बोक्नु पर्ने
बिडम्बना मान्छे मान्छे हुनुको अर्थ बिसर्िएर
किरातीको रितमा जाँड पिएर
बौलाएको जड्याहा जस्तो
कतै सन्तान लुटिएकी आमा जस्तो
खालि बौलाइरहन्छन् मान्छेहरु
यही समयको सन्नाटालाई चिरेर
एकलास मध्यरातमा
अँध्यारो युगीन
यी सडकहरुमा
यी गल्लीहरुमा
यी चिहान चौतारीहरुमा
मध्य थकानलाई थाती राखेर
खोजीरहेछ अर्थ पागलपनको ।

बिहानीलाई डाक

विपल बोयुङ

डाक युवाहरु बिहानीलाई डाक
बिहानीकै रङ्गहरु सजाएर राख

रगत र पसिनाले सिन्चेका थे पाखाहरु
अँधेरीमा रुदैछ है पुर्खाका ती आँखाहरु
सल्काइदेऊ अँधेरीमा दीप लाख-लाख
बिहानीकै रङ्गहरु सजाएर राख

मौलाएर दिनदिनै तेजाबी ती सुनहरु
अस्ताउँदै गएको छ समताका जूनहरु
हिस्सा फिर्ता लिनु छ है जाग लौ जाग
बिहानीकै रङ्गहरु सजाएर राख

मेरो हुन सक्दैन

नाकिमा

अहँ ! यो सहर मेरो हुन सक्दैन
रङ्गीन यो रहर मेरो हुन सक्दैन

हिमनदी हुँ बग्छु निरन्तर
दुर्गन्धित नहर मेरो हुन सक्दैन

समयझैं गतिशील छु सधैँ
बेमौसमी लहर मेरो हुन सक्दैन

पक्षपाती हुँ उज्यालोको सधैँ
अँध्यारो यो प्रहर मेरो हुन सक्दैन

गणतन्त्रको खेती

विक्रम सुब्बा

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनू
दिदीले छोडेर गएको मुलुकमा
संविधानका पन्ना-पन्नामा फलेका
गुलिया चिप्ला र धारिला अक्षरहरु
भोक मार्ने मकै-भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर
गल्ली-गल्ली सडक र चोक जोत्दै जाँदैछन्
फाली अड्काउँने दरबारका जगहरु जोत्दै जाँदैछन्
सात समुद्रपारी र छिमेकका फिरङ्गी-मोडलका
ग्र्यान्डडिजाइन र रोडम्यापहरु जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आपुनै रगतको बीउ हाल्दै जाँदैछन्
यो महान् खन-जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरुका गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गनॆ्रहरु
बङ्करहरु पनि जोत्दै-जोत्दै जाँदैछन् ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनू
दिदीले छोडेर गएको मुलुकमा
संविधानका पन्ना-पन्नामा फलेका
गुलिया चिप्ला र धारिला अक्षरहरु
भोक मार्ने मकै-भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

गाउँगाउँबाट उठ

श्याम तमोट

गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ

हातमा कलम हुनेहरु कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ

हातमा औजार हुनेहरु औजार लिएर उठ
साथमा केही नहुनेहरु आवाज लिएर उठ

झिल्का-झिल्का बल्नेहरु ज्वाला भएर उठ
देशका लागि लड्नेहरु एकजुट भएर उठ

फुल्दछ नि पारिजात

यल्जी विवश

ढकमक फुल्यो धुपी सल्ला अनि पारिजात
मगमगाइन् साहित्यको फूल बनी पारिजात

काँडा बनी घोचे पनि अभावको भुमरीले
एकनासै हिँडिन् आफ्नो बाटो खनी पारिजात

उपन्यास कविता र कथासँगै दौडिरहिन्
बहुमुखी प्रतिभाकी कति धनी पारिजात

चोटमाथि चोट दिन्छ ठगेपछि नियतीले
चोटसँगै हारिनन् दुख्यो भनी पारिजात

मगमगाउँछौ हामी पनि फूल फुल्दा शिरीषको
रोपौँ आजै रोपेपछि फुल्दछ नि पारिजात

पाटन

विमल निभा

यो कानुनी गोली हो

असह्य दुख भयावह वेदना
निरन्तर चित्कार
र विह्वल मन
सबै जनिहंसा हुन्

जोस आक्रोश विद्रोह
र अन्यायको विरोध रोक्का गरिएको छ
अज्ञापत्रमा
हत्या नियमबमोजिम भएको छ
तिमीहरुको छातीबाट बगिरहेको
रातो रगत
अराजकता हो

आँखाको तरल आँसु ध्वंसात्मक कारबाही
र स्थिर पीडा उग्रवाद
रगताम्मे विश्वास राज्यविप्लव
चेतना असंवैधानिक शब्द हो
सहन गरिने छैन अब
कुनै पनि प्रकारको छटपटी

पाटनबासीहरु हो !
तिमीहरुको जीवनलाई गैरकानुनी
घोषित गरिन्छ ।