निरङ्कुशता ढल्छ एकदिन

सन्त थलङ

आफैभित्र खोकि्रएर निरङ्कुशता ढल्छ एकदिन
उन्मुक्तिको फूल फुल्ने शासन पनि चल्छ एकदिन

सधै कहाँ टिक्न सक्छ भ्रम छर्ने व्यवस्था यो
जनतासामु कहाँ टिक्छ पहाड पनि गल्छ एकदिन

अँध्यारोको स्तूतिमा जति भजन गाऊ तिमी
थाहै नपाई चेतनाको दीप पनि बल्छ एकदिन

पौरखी हातहरुले सिन्चेपछि तातो श्रम
मरु्भूमि किन नहोस् मोतीदाना फल्छ एकदिन

चैत-बैशाखको धुपमा डढेलो सल्केपछि
अनकन्टार जङ्गल पनि क्षणभरमै जल्छ एकदिन

सारस र हामी

विशद

सारसहरु हवाईजहाज चढेर आउँछन्
अथवा, खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउँछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
‘अतििथ देवो भवः’
थुक्कः हामीहरु !

सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !

सारसहरु निष्फिक्र छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउँछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउँछौं
थुक्कः हामीहरु !

सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुिन
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !

यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौँ
सडकझैं गतिशील
थुक्कः हामीहरु !

उठौँ युवा

तारा थुलुङ ‘अथाह’

क्षितिजबाट चेतनालाई डाक्दै उठौँ युवा
देश िसंगार्ने बाटोतिर लाग्दै उठौँ युवा

हेर हाम्रा काँधमाथि कति गह्रौ जिम्मेवारी
तुवाँलोको बस्तीभित्र खोज्नुपर्छ भविष्य ती
हतारिदै सम्हालिदै जाग्दै उठौँ युवा
घामसँग नयाँ किरण माग्दै उठौँ युवा

वीर सहिदले देखेका ती सपनालाई साकार पार्न
अझ पनि हाम्रो सामु अथाह छन् बिघ्न बाधा
सबै नाघी चोमोलुङ्मा ताक्दै उठौँ युवा
छातीभित्र देशको चित्र छाप्दै उठौँ युवा

माटो खै त दाजै ?

जीवन चामलिङ

पुर्खाको आवादी माटो खै त दाजै ?
उभौली चढेको बाटो खै त दाजै ?

तिम्रो चेतनालाई यही हो प्रश्न
भास्मे खोरियाको पाटो खै त दाजै ?

हामीले ओढेको आकास हेर त !
रंगीन इन्द्रेणीको रातो खै त दाजै ?

इतिहासको थुप्रै सन्ध्यामा
हेपिएको घाऊ खाटो खै त दाजै ?

कुटियौ थिचियौ र लुटियौ
लिएको बदला साटो खै त दाजै ?

जेल

कृष्णसेन ‘ईच्छुक’

म पर्खालभित्र छु
तिमी पर्खाबाहिर छौं
म पहराभित्र छु
तिमी पहराबाहिर छौं
म यातना-गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको पषाद होस्
के फरक पर्यो र
मित्र अर्काको मुठ्ठीभित्र जिन्दगी
जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ ।

जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्तआकाङ्क्षाहरु बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरुमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्यो र
मित्र भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ ।

जहाँ बेला-कुबेला रमन घुमिरहन्छ
जहाँ कारण-अकारण साईरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च-पास चलिरहन्छ
अनि जहाँ मौसम-बेमौसम बारुदहरु गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्यो र
मित्र सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ ।

उही दिन सधैँ उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो पि्रय स्वदेश होस्
के फरक पर्यो र
मित्र उत्पीडित पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।

रोक्ने को हो

गोकुल जोशी

रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा

व्यस्त रह्यो आजीवन हात रह्यो खाली
छैन कतै बास बस्ने प्रकृतिको डाली
नेपालको टाकुरामा घाम उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन

वनवनै सुशेलीमा रुन कति पर्ला
नेपालीले कैलेसम दास हुनु पर्ला
कैले होला विज्ञानले नौलो खोल हाल्ने
मानवता फैलाउने दानवता ढाल्ने

नौलो नयाँ समाजको सङ्केत बारम्बार
सभ्यताको जग राख्ने कवि कलाकार
मानवता छट्पटायो व्यथा के हो बोल
समाजको थोत्रिएको मिल्काइदेऊ खोल

मान्छे यहाँका

रवि प्रांजल

मान्छे यहाँका पुराना देखेँ
आँखा भएका काना देखेँ

जहाँ ओत लागेको छु
जीर्ण त्यहाँ छाना देखेँ

बिना अपराध कैदी छु
घरलाई नै थाना देखेँ

‘कथा’ भयो ‘हरिश्चन्द्र’
फटाहाको जमाना देखेँ

बैरी भए सारा दुनिया
‘मित्र’ एक-दुई जना देखेँ

सुनाउँदिन अब गजल
समय काट्ने बहाना देखेँ

‘रवि’ लाई कुन्नि के भो
आफन्त नै विराना देखेँ ।

बालुवाटार

स्व.स्वप्नील स्मृति

यस्तो ‘पिक्निक स्पट’ हो बालुवाटार
मानौँ हाम्रो देशको नक्साभित्र पर्दैन त्यो ।

सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रन्दैन
फगत् ! मौलाउँछ नीलकाँडा षडयन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो सक्खर ।

आगलागी भइरहेछ मानिसका मन-मनमा
भागदौड मच्चिरहेछ सारा गाउँसहरमा
मानौँ बालुवाटार
हाम्रो देशको नक्साभित्र पर्दैन
जहाँ चलिरहेछ निरन्तर नाचगान
मादक डढेलो उठिरहेछ मनोराजनको
जुद्ध बारुण यन्त्र लगातार निभाइरहेछ
विदेशी रक्सी सल्किएको मन्त्रीहरुको टाउकोको आगो
‘कोक्टेल’मा मदहोस प्रधानमन्त्री
र् याप हानिरहेछ शान्तिको ‘शान्ति ! शान्ति !’

हुरी हुन्हुनाइरहेछ भूगोलका कुना-कुना
चारैतिर मडारिइरहेछ रुखपात बुट्यानहरु…
भूँवरी उठिरहेछ प्रत्येक बार् ह बजे
बालुवाटारको आकाश छोपिनेगरी
र सरकार पछारिइरहेछ बालुवामा हरुवा गोरु झैँ डुङ्डुङ्ती…
तर सरकार…
सरकार बालुवामुनि हतियार लुकाएर
उल्टै हरौरी भोजको आयोजना गरिरहेछ ।

यस्तो ‘पिक्निक स्पट’ हो बालुवाटार
मानौँ हाम्रो देशको नक्साभित्र पर्दैन त्यो ।

ब्यूँझ-ब्यूँझ

मुना निश्चल

भालेहरु बासिसक्यो
बिहानीलाई डाकिसक्यो
ब्यूँझ-ब्यूँझ नेपाली हो
ब्यूँझ-ब्यूँझ गोर्खाली हो

कति खेल्छौ अँध्यारोको खेल
कति बस्छौ अन्यायी त्यो जेल
उज्यालोले ढाकिसक्यो
मिर्मिरे त्यो फाटिसक्यो
ब्यूँझ-ब्यूँझ नेपाली हो
ब्यूँझ-ब्यूँझ गोर्खाली हो

कति सहन्छौ कुसमाजको बात
कति सुन्छौ निर्धनको घात
युगले कोल्टे फेरिसक्यो
नौलो किरण देखिसक्यो
ब्यूँझ-ब्यूँझ नेपाली हो
ब्यूँझ-ब्यूँझ गोर्खाली हो

सङ्घर्ष जिन्दगीको

सप्रेम अर्चना

सङ्घर्ष जिन्दगीको खारिन्छ एकचोटि
यो जिन्दगी सुनौलो पारिन्छ एकचोटि

नौलो बहार डाक्ने आशा फुलाउने त्यो
यौटा नयाँ बिरूवा सारिन्छ एकचोटि

माया दिएर कोही चाहन्छ जित्न युद्ध
साँच्चै विभोर बन्दै हारिन्छ एकचोटि

लड्छौँ मिलेर हामी अन्यायका विरुद्ध
कालो परम्परा यो मारिन्छ एकचोटि