आमा हुन

तीर्थ श्रेष्ठ

आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भैदिनुपर्ने
मैदानमा पुगेर उकालो भैदिनुपर्ने

सन्तानहरु कहाँ पुग्छन्
खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरु जस्तो

आमाहरु पहाड छेऊको
चौतारी हुन् अभिशप्त छन्
आमा हुन अप्ठेरो छ
आमा हुन पहाड हुन
जस्तै गाह्रो छ

Advertisements

यस्तो भाँडभैलो किन ?

संगीतश्रोता

पसिना त्यो हाम्रो थियो, उसको भयो थैलो किन?
अझै उही सुकिलो छ हाम्रै आङ मैलो किन?

कैले राति साँध सार्छ, कैले बाढी लगाइदिन्छ
तल्लाघरे हेपाहाले घच्घचाउँछ दैलो किन?

हाम्रो घरको भित्री कुरा हामीलाई नै थाहा होला
टाँठो-बाठो हुन खोज्छ खोलापारे कैलो किन?

विद्रोहका सयौं गजल गुन्जँदैछन् सडकमा
फेरि उसकै महलमा थोत्रो गजल पैलो किन?

सारंगी र मादलको ताल खोज्छन् श्रोताहरु
हो-हल्लामा हाहा-हूहू यस्तो भाँडभैलो किन?

झरी पर्दा

राजन मुकारुङ्ग

सडकमा-
भत्किँदै गरेका केही डोबहरू छन् जुलुसका
भित्तामा-
पत्रीँदै गरेका केही नाराहरू छन् विरोधका
समयले-
यिनलाई पनि मेट्नेछ कुनै दिन
देशले-
गंगालालको सालिकछेउ पनि रूख रोपेछ
र तप्काएछ निरङकुश पानीका थोपाहरू
छाता ओढाइदिन बिर्सेछन् बनाउनेहरूले
झरीपर्दा-
किनाराको सालिक रुझ्छ र बेस्कन रुन्छ

उठ नेपाली

सोनाम बज्यू तामाङ

उठ हे उठ…उठ हे उठ…
उठ हे उठ जुर्मुराउँदे उठ नेपाली
सुनौलो बिहानीको किरण छर्दै लौ
यो देश िसंगार्न उठ हे उठ…उठ नेपाली

लौ, पौरखी यी हात यही माटोमा चाले
लौ, सीप र जाँगरलाई यही धर्तीमा फाले
असमभव छँदैछैन यही धर्तीमा सुन फलाउन
गरागरा, डाँडा-पाखा, मेहनतले सुन्दर बनाउन

लौ, पराई हात सधैँ थाप्नु हुन्न है
हो, आपुनो स्वाभीमान बेच्नु हुन्न है
देशको लागि हामी पनि मर्न बाँच्न सक्नु पर्छ है
इतिहासलाई साक्षी राखी नयाँ इतिहास कोर्नु पर्छ है

मारिएकी नारीहरु

शकुन आँशु

जिउँदै घाँटी निमोठी मारिएकी नारीहरु
बोल खोल रापिएर खारिएकी नारीहरु

समानताको अंश खोज्दै एकाएक उठौँ मािथ
मान्छेबाट मान्छे तल झारिएकी नारीहरु

लेखान्तको कुरा हुन्न चेतनाको कुरा हुन्छ
बिना न्याय धकेलेरै सारिएकी नारीहरु

घरैभित्र हेलिएर घरैभित्र मर्ने मान्छे
तिनै हुन् गृहबन्दी पारिएकी नारीहरु

जनताको संविधान

ध्रुवसत्य

म मेरो अजातशत्रुको अनुहार हेर्न आतुर छु ।

बाहिर मेरो न्वारान गर्नेहरुको नियत बुझिनसक्नु छ
जसले जस्तो व्याख्या गरे पिन
म जनताको संविधान हुँ
म गर्भमा छु
र मेरो अजातशत्रुलाई चिन्ता छ
कि म जन्मेपिछ
सारा शत्रुलाई सखाप पार्ने छु ।

कल्पित चिन्तामा बाँचेको ओ मेरो अजातशत्रु-
जब म सहिदले आर्जेको माटोमा टेक्ने छु
तब म सम्यक् दृष्टिले दुनियालाई देख्ने छु ।

यो माटोमा म जन्मेपछि
जो कोही जो कसैको मतियार हुनेछ
कि आत्म-निर्णयको अधिकार हुनेछ
‘जसको जोत् उसैको पोत’ हुनेछ
मालिक को हो-मजदुर को हो
इतिहासको खोज हुनेछ
तर तर म फेिर
मेरो अजातशत्रुलाई खोज्ने छैन
त्यो अजातशत्रू
जो म गर्भमा रहेका बेला पिन
मेरी आमालाई बलात्कार गरिरहन्छ ।

म समयको गर्भमा जन्मीसकेको छु
यसैले
मलाई कसैले तुहाउन सक्ने छैन
म हजारौं सहिदको सपना हुँ
त्यसैले
म जन्मेर जसको अनुहारमा हेर्ने छु
ऊ मेरो शत्रु रहने छैन ।

म मेरो अजातशत्रुको अनुहार हेर्न आतुर छु ।

असारको उर्लदो भेल

श्याम तमोट

असारको उर्लदो भेल चिप्लो बाटो दोबाटोहरु
पहिरो गएको पाखा रुझ्दै भिज्दै हिँड्नेहरु
एक लस्कर भरियाहरु

भदौको चर्कदो घाम पानी बिनाको ठाडो उकालो
बेलका बोट सतीबयरको झ्याङ
पसिना पुछ्न टेकाउनेहरु
एक लस्कर भरियाहरु

पुसको धुम्मिँदो दिन फेटा गँुथेका डाँडाहरु
छुनै डरलाग्ने पानी काम्दै खोला तर्नेहरु
एक लस्कर भरियाहरु

चैतको हुरी बतास नाङ्गिसकेका रुखहरु
बालुवा उडिरहेको बगर मुहार ढाक्दै हिँड्नेहरु
एक लस्कर भरियाहरु

कालो अँध्यारो रात पाइताला घोच्ने गेगरहरु
हातमा राँको लिदै बाटो पहिल्याउनेहरु
एक लस्कर भरियाहरु