भरियाको जीवन

किशोर चाम्लिङ

बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

जाली तिलहरीहरु

विशद

उड्न देऊ दिदी मनभित्रका चरीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

फरियामा आँशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बालि दिन्छ्यौ किन ?
जन्माऊ न फेरि आकाश छुने परीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

दैलोमै जून टेक्छिन्
आवाज त देऊ
सँगसँगै धर्ती फुल्छिन्
कहाँ लाचार छ्यौ
घेर बादल फेर आकाश ए ! नवनारीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

रोयौ कुन पीरले

शरद पौडेल

अधर भिजेको छ आँखाका ती नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले
सर्वाङ्ग भिजेको छ आँखाका ती नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले ।

तिमीले त भन्थ्यौ आँसु शक्ति होइन
तिमी नै त भन्थ्यौ रुनु मुक्ति होइन
तिमीले त भन्थ्यौ पीरमा डुब्नु हुन्न
तिमी नै त भन्थ्यौ शिर यो झुक्नु हुन्न
वचन भिजेको छ आँखाका ती नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले ।

तिमीले त भन्थ्यौ रुने कायर हुन्छ
तिमी नै त भन्थ्यौ भाग्दा मुत्यु हुन्छ
तिमीले त भन्थ्यौ दुःखी जुट्नु पर्छ
तिमी नै त भन्थ्यौ बाधा तोड्नु पर्छ
त्यो आँट मधुरो किन  आँखाका नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले ।