हामी मजदुर हौं

किशोर चाम्लिङ

यो देशको निर्माण गर्ने
हामी मजदुर हौं
विकासको मूल फुटाउने
हामी मजदुर हौं
देशकै लागि यो जीवन दिने
हामी मजदुर हौं

दुनियालाई बदल्न सक्ने
हामीमा तागत छ
मरेर पनि बाँचिरहने
शहिदको रगत छ
हामी आफ्नै श्रम र सीपले
यो धर्ती िसंगार्छौं
पसिनाले िसंचेर माटो
अमूल्य बनाउँछौं

कसैको दासी बन्दैनौं हामी
अन्याय सहन्नौं
पौरखले बाँच्छौं कसैको सामु
कहिल्यै झुक्दैनौं
सुस्ताएर बस्दैनौं हामी
शिखरमा पुग्नु छ
आफ्नो अधिकार लिनलाई अब
एक भई जुट्नु छ

बिहानीलाई डाक

विपल बोयुङ

डाक युवाहरु बिहानीलाई डाक
बिहानीकै रङ्गहरु सजाएर राख

रगत र पसिनाले सिन्चेका थे पाखाहरु
अँधेरीमा रुदैछ है पुर्खाका ती आँखाहरु
सल्काइदेऊ अँधेरीमा दीप लाख-लाख
बिहानीकै रङ्गहरु सजाएर राख

मौलाएर दिनदिनै तेजाबी ती सुनहरु
अस्ताउँदै गएको छ समताका जूनहरु
हिस्सा फिर्ता लिनु छ है जाग लौ जाग
बिहानीकै रङ्गहरु सजाएर राख

गाउँगाउँबाट उठ

श्याम तमोट

गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ

हातमा कलम हुनेहरु कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ

हातमा औजार हुनेहरु औजार लिएर उठ
साथमा केही नहुनेहरु आवाज लिएर उठ

झिल्का-झिल्का बल्नेहरु ज्वाला भएर उठ
देशका लागि लड्नेहरु एकजुट भएर उठ

गीत र धुनहरु

पारिजात

तिमी मलाई सारङ्गीका केही धुनहरु देऊ-
म तिमीलाई एउटा विवश गरिबको व्यथा भन्छु

म तिमीलाई एउटा छाप्रो जलेको रहस्य भन्छु
तिमी दुःखद जीवनहरुलाई धुनमा फेर
म तिम्रो सारङ्गीसँग एउटा गीत साट्छु

दुःखहरुको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रुन्छौ म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो
जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो
जो डढेलामा फेरिन सक्छ

तिमी मलाई अब यी दुःखहरुको सिङ्गो धुन देऊ
म यी दुःखहरुलाई आजका सिङ्गा गीतहरुमा फेर्छु
म यी गीतहरुलाई प्रतिशोधका रापहरुमा फेर्छु ।

तिमी मलाई केवल मन पगाल्ने धुन देऊ
म तिमीलाई इतिहास फेर्ने गीत दिन्छु
तिमी मलाई आफ्नो सारङ्गीका केही धुनहरु देऊ
म गीतहरुलाई परिवर्तनको इतिहासमा फेर्छु ।

मर्दैन वलिदान कहिल्यै

भरत लामा

को भन्छ तिमी मर्यौ
मर्दैन वलिदान कहिल्यै
तिमी देश भएर बाँच्यौ
तिमी हिमाल भएर उभियौ

तिमी मरेर सधैँ बाँच्यौ
शोषितको आँट भएर
त्यो बाँचेर सधैँ मर् यो
पसिना अरुको पिएर
को भन्छ…..

तिमी धु्रव ताराभैष अटल छौ
यहीँको धुलोमा कहीँ छौ
तिमी मेची-कालीभित्रै छौ
तिमी आमाको काखमा यहीँ छौ
को भन्छ…..

स्याबारे !

राजन मुकारुङ

स्याबारे ! स्याबारे ! स्याबारे !
म त उही मान्छे स्याबारे !

बैसाखी छ साथी
यही टेक्दै आएँ
चिनेनौ कि कसो
उही मान्छे परेँ स्याबारे !!
हैया स्याबारे !

जसले फाँड्यो भस्मे-खोरिया चुम्यो धरती
जसले थप्यो पुर्खा-पसिना गर् यो आवादी
उसकै युद्ध लडँे म आफै पो हारेँ
चिनेनौ कि कसो
उही मान्छे परेँ स्याबारे !

यही माटो मेरो चिनारी राखेँ सिरानी
पुर्खा-धर्म थाम्ने इतिहास थामँे निसानी
जिन्दगीको बाजी अब मैले हारेँ
चिनेनौ कि कसो
उही मान्छे परेँ स्याबारे !
हैया स्याबारे !
म त उही मान्छे स्याबारे !

खुला छ आकाश

नदीश
खुला छ आकाश पहाडको बाहना नगर
सिँगार धर्ती स्वर्गको चाहना नगर

त्यागेर जीवन मृत्युलाई अँगाल्छौ जसरी
भागेर आफै संसारलाई नियाल्छौ कसरी
धेरै छन् बाटा पर्खालको बाहना नगर
सिँगार धर्ती स्वर्गको चाहना नगर

बुझेर जीवन दुखसँगै हाँस्नेहरु कति
पसिना रोपी आगनीमा नाच्नेहरु कति
पूर्णिमा हेर औँशीको बाहना नगर
सिँगार धर्ती स्वर्गको चाहना नगर

सङ्घर्ष नै रहेछ जीवन

विष्णु श्रापित

सङ्घर्ष नै रहेछ जीवन सङ्घर्षमै बाँच्नु पर्ने
ऊ नै बन्छ महान् मान्छे सयौँ जङ्घार तर्ने

आशा बोकी बाँच्यौँ भने जीवन माथि हुन्छ
जीवनसँग हार्ने मान्छे सधैँ कायर बन्छ
हैन निरास जीवन हाम्रो हरेस खाई मर्ने
ऊ नै बन्छ महान् मान्छे सयौँ जङ्घार तर्ने

मृत्यु पनि बाँच्दो रहेछ इतिहास कोरे
पुज्य बन्छ तिनै मान्छे देशको लागि मरे
हैन हाम्रो यो जिन्दगी पात भई झर्ने
ऊ नै बन्छ महान् मान्छे सयौँ जङ्घार तर्ने

आदिवासी चेली

टीका चाम्लिङ

आदिम पुर्खा थलो ढोगी भित्रिमनले चुम्छु
आदिवासी चेली हुँ म ऋतुजस्तै घुम्छु

कहिले पुग्छु किराती गाउँ भूमे साकेवामा
कहिले पुग्छु हिमाली गाउँ फालो लाफेवामा
सबको लागि चेतनाको म नयाँ तान बुन्छु
आदिवासी चेली हुँ म ऋतुजस्तै घुम्छु

कहिले पुग्छु तमुवानको रोधी सोरठीमा
कहिले पुग्छु थारुवानको होलिया माघीमा
सबको लागि एकताको चोमोलुङमा छुन्छु
आदिवासी चेली हुँ म ऋतुजस्तै घुम्छु

सानो जात भन्छन्

राजु एन राई

गाउँमा मलाई सानो जात भन्छन्
समाजमा हजुर पानी नै चल्दैन
उस्तै हो शरीर रातो खुन बग्ने
शरीरमा हजुर पानी त बग्दैन

तोकेको हुन्न सानो र ठूलो
आमाको कोखलाई
लेखेको हुन्न रगतमा पनि
धर्म र जातलाई
गाउँमा मलाई अछुतो भन्छन्
समाजमा हजुर घरबार चल्दैन
उस्तै छ शरीर रातो खुन बग्ने
शरीरमा हजुर पानी त बग्दैन

उस्तै छ जीवन सबैको प्यारो
उही धर्ती उही आकाश
सबैको जीवन मट्टीमा मिल्छ
उही मृत्यु उही आवास
श्रम पनि चल्छ सीप पनि चल्छ
खै किन हजुर पानी नै चल्दैन
उस्तै हो शरीर रातो खुन बग्ने
शरीरमा हजुर पानी त बग्दैन