पुग्नु टाढा छ

नाकिमा

घामले आँखा खोलिसक्यो
पाखा-पर्वत चुमिसक्यो
उठ ए मान्छेहरु
पुग्नु टाढा छ ।

पीठो-गुन्द्रुक उमालेर
टार्नु कति छाकहरु
पटुकीले पेट कसेर
काट्नु कति रातहरु
जून घुम्न आऊ भन्छ सपनीमा जूनवासी
घामले आँखा खोलिसक्यो
घरको संघार टेकिसक्यो
उठ ए युवाहरु
पुग्नु टाढा छ ।

कुचीतिर अघि बढाऊ
कुचो लाउने हातहरु
कलमले कहानी फेर
जाँगरीला जमातहरु
अनि पो त पुग्छौं हामी चन्द्रमाको हाट हेर्न
घामले पाइला चालिसक्यो
नयाँ यात्रा थालिसक्यो
उठ ए यात्रीहरु
पुग्नु टाढा छ ।

छङ्छङ् बग्ने पानी

मन्जु मार्मिका

झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी
सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी

डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो
जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो
दोधारमा नबसौँ है चाँडै बढौँ हामी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी

सयौँ दिन रात गरी वर्षाँै बित्दै जान्छन्
कैले औँसी कैले पूर्णिमाको रात बनी बित्छन्
राख्नु पर्ने सुमार्गमा हिँडी राख्ने बानी
झरझर गर्ने झरनासँगै छङ्छङ् बग्ने पानी

आमा हुन

तीर्थ श्रेष्ठ

आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भैदिनुपर्ने
मैदानमा पुगेर उकालो भैदिनुपर्ने

सन्तानहरु कहाँ पुग्छन्
खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरु जस्तो

आमाहरु पहाड छेऊको
चौतारी हुन् अभिशप्त छन्
आमा हुन अप्ठेरो छ
आमा हुन पहाड हुन
जस्तै गाह्रो छ

उठ नेपाली

सोनाम बज्यू तामाङ

उठ हे उठ…उठ हे उठ…
उठ हे उठ जुर्मुराउँदे उठ नेपाली
सुनौलो बिहानीको किरण छर्दै लौ
यो देश िसंगार्न उठ हे उठ…उठ नेपाली

लौ, पौरखी यी हात यही माटोमा चाले
लौ, सीप र जाँगरलाई यही धर्तीमा फाले
असमभव छँदैछैन यही धर्तीमा सुन फलाउन
गरागरा, डाँडा-पाखा, मेहनतले सुन्दर बनाउन

लौ, पराई हात सधैँ थाप्नु हुन्न है
हो, आपुनो स्वाभीमान बेच्नु हुन्न है
देशको लागि हामी पनि मर्न बाँच्न सक्नु पर्छ है
इतिहासलाई साक्षी राखी नयाँ इतिहास कोर्नु पर्छ है

असारको उर्लदो भेल

श्याम तमोट

असारको उर्लदो भेल चिप्लो बाटो दोबाटोहरु
पहिरो गएको पाखा रुझ्दै भिज्दै हिँड्नेहरु
एक लस्कर भरियाहरु

भदौको चर्कदो घाम पानी बिनाको ठाडो उकालो
बेलका बोट सतीबयरको झ्याङ
पसिना पुछ्न टेकाउनेहरु
एक लस्कर भरियाहरु

पुसको धुम्मिँदो दिन फेटा गँुथेका डाँडाहरु
छुनै डरलाग्ने पानी काम्दै खोला तर्नेहरु
एक लस्कर भरियाहरु

चैतको हुरी बतास नाङ्गिसकेका रुखहरु
बालुवा उडिरहेको बगर मुहार ढाक्दै हिँड्नेहरु
एक लस्कर भरियाहरु

कालो अँध्यारो रात पाइताला घोच्ने गेगरहरु
हातमा राँको लिदै बाटो पहिल्याउनेहरु
एक लस्कर भरियाहरु

किन ताप्छौ आगो ?

नाकिमा

किन ताप्छौ आगो ?
जलाएर अरुको घर
हुँदैन र काफी न्यायो ?
आफ्नै आमाको काख

जिउँदै छ इतिहास
जितेको नालापानी
साक्षी छ वर्तमान
दुखेको कालापानी
किन खेल्छौ परेड ?
आएर अरुको आँगन
हुँदैन र काफी ठूलो ?
आफ्नै आमाको काख

प्यास मेट्दा तिमीले
सुकिदिन्छ मेरो पहाड
बाटो छेक्दा तिमीले
डुबिदिन्छ मेरो मधेश
किन ताप्छौ आगो ?
जलाएर अरुको घर
हुँदैन र काफी न्यायो ?
आफ्नै आमाको काख

स्वर्णिम इतिहास

गोविन्द पुन ‘गिरीश’

युवा नै हो मेरुदण्ड देश विकासको
युवा नै हो निर्माता स्वर्णिम इतिहासको

नयाँ युग निर्माण गर्ने नायक हो युवा
समयको गीत गाउने गायक हो युवा
युवा नै हो चन्द्रसूर्य यही आकासको
युवा नै हो निर्माता स्वर्णिम इतिहासको

फुटाउँछन् यही धर्तीमा पसिनाको मूल
फुलाउँछन् यही धर्तीमा सिर्जनाको फूल
रगतको फूल हो युवा लालीगुराँसको
युवा नै हो निर्माता स्वर्णिम इतिहासको