मरुभूमि जिन्दगीमा

राजमणि राई

मरुभूमि जिन्दगीमा भेट्टायौ के पानी
अझै पनि रुदै छौ कि दोषी आफै ठानी

आफनै खेतमा बनी गरी पेट पाल्दैछौ कि
च्यातिएको दौरा सुरुवाल फेरि टाल्दैछौ कि
जमिन्दारको आज्ञा मानी बेच्दैछौ कि ज्ञानी
अझ पनि रुदै छौ कि दोषी आफै ठानी

सामन्तको कालो हातले घाटी थिचियो कि
पढ्ने-लेख्ने अधिकारको सीमा मिचियो कि
उसकै पूजा गर्दैछौ कि भवगान मानी
अझै पनि रुदै छौ कि दोषी आफै ठानी

पानीसरि आँसु बगाई बस्नु छैन कतिन्जेल
अन्यायको विरोध गरौँ जीवन रहुन्जेल
श्रम गरी भेट्नु पर्छ सुनै सुनको खानी
अझै पनि रुदै छौ कि दोषी आफै ठानी

बाँचे कसो होला ?

सुबास आम्बोटेली

मौनताको विद्रोहमा बाँचे कसो होला ?
जसोतसो बटुलेर हाँसे कसो होला ?

दुइ चार दिनको पाहुना भै टेकेको छु धर्ती
आँशुलाई मृत्युपछि साँचे कसो होला ?

सकेसम्म हाँस्न खोज्छु दुख खाए के भो ?
विरहको भाकामा नै नाचे कसो होला ?

अझ पला बाँचू भन्यो हतारिन्छ मृत्यु
मृत्यु आउने पुलपक्का भाँचे कसो होला ?

मर्नै पर्छ भन्ने सुन्छु मानिसको चोला
अमरत्व सँग साइनो गाँसे कसो होला

हुन्छ, उज्यालो हुन्छ

बूँद राना

मुक्तिको तिथिमिति गन्दै छ कलैया
‘हुन्छ, उज्यालो हुन्छ’ भन्दैछ कलैया

नौलो बिहानी यौटा जन्माउँछु भनी
नसोध कहिलेदेखि कन्दैछ कलैया ?

दिनरात ज्योति निम्ति जल्दैछ तापनि
निन्दकहरु भन्छन्- ‘ठन्डै छ कलैया’

पोल्यो भने धूँवा भै पिर्ने हुँदा अझै
सिनोका निम्ति खाल्डो खन्दैछ कलैया

म पाठ के सिकाऊँ मुक्ति र त्यागको ?
निष्कर्षमा दधिची बन्दैछ कलैया

गाउँदेखि शहरसम्म

सम्झना भुजेल

गाउँदेखि शहरसम्म झर्नुपर्छ गणतन्त्र
नेता, भरिया, किसानीमा पर्नुपर्छ गणतन्त्र

युवा पुस्ता यत्तिकै छ, जोस जाँगर भएकै छ
वृद्धदेखि युवासम्म सर्नुपर्छ गणतन्त्र

यात्रा लामो कठिन तर सफल हुनैपर्छ
बिचमा आउने सुनामीलाई तर्नुपर्छ गणतन्त्र

भावी पुस्ता आउने छ, नयाँ गीत गाउनेछ
ऐतिहासिक विउविजन छर्नुपर्छ गणतन्त्र

कति मन अमिलो छ, मनमा दाग बसेको छ
समायोजन गरी मनलाई भर्नुपर्छ गणतन्त्र