खुट्टा तान्नेहरू

घनश्याम परिश्रमी

जब माथि चढ्न थाल्छन् जान्नेहरू
तल हाजिर हुन्छन् खुट्टा तान्नेहरू

अनायासै आज निर्वस्त्र देखिए
हिजोसम्म लाज-सरम मान्नेहरू

पात्र उपहासको पो भएका छन्
परम्परा जुन पुरानै धान्नेहरू

समाजको रथ स्वयं हाक्न खोज्छन्
कुरा ठूला गरी लङ्का हान्नेहरू

छद्मभेषी आजभोलि बढेका छन्
अलपत्र पर्छन् आफ्नै ठान्नेहरू

मेरो हुन सक्दैन

नाकिमा

अहँ ! यो सहर मेरो हुन सक्दैन
रङ्गीन यो रहर मेरो हुन सक्दैन

हिमनदी हुँ बग्छु निरन्तर
दुर्गन्धित नहर मेरो हुन सक्दैन

समयझैं गतिशील छु सधैँ
बेमौसमी लहर मेरो हुन सक्दैन

पक्षपाती हुँ उज्यालोको सधैँ
अँध्यारो यो प्रहर मेरो हुन सक्दैन

यसो भन्छिन उनी

नदीश

‘कति सुन्दर तिम्रा आँखा’ भनिदिन्छु म’नि
‘सपना सुन्दर देख्छु नि त!’ यसो भन्छिन उनी

तिमी बिना मर्छु भन्दा अचेल साह्रै रिसाउँछिन
त्यस्ता कुरा गर्नेहरु कायर हुन्छन भनी

चुनौती केही छैन भने जीवन हैन अरे
मलाई ज्यून सिकाउने उनी नै त हो नि

बेग्लै हुन्छन कुरा हाम्रा खोज नयाँ नयाँ
माया प्रेमका कुरा सँधै कति गर्नु त नि !

ल्होसारमा नाचिदिन्छु उनी दशैँ टीका थाप्छिन
हाम्रो देश हामी भित्रै अटाइदिन्छ अनि

सस्तो प्रेम वासनामै सिमित भा’छ आज
अरु भन्दा हाम्रो जोडी कति भिन्न छ नि

उठौँ युवा

तारा थुलुङ ‘अथाह

क्षितिजबाट चेतनालाई डाक्दै उठौँ युवा
देश निर्माणको बाटोतिर लाग्दै उठौँ युवा

कति गह्राँै जिम्मेवारी हेर हाम्रो काँधमािथ
हतारिदै चटारिदै जाग्दै उठौँ युवा

तुवाँलोको बस्तीभित्र खोज्नुपर्छ भविष्य त्यो
घामसित नयाँ किरण माग्दै उठौँ युवा

नयाँ नेपाल बनाउने सपनालाई साकार पारौँ
छातिभरि देशको चित्र छाप्दै उठौँ युवा

अझै पनि हाम्रा सामु ‘अथाह’ छन् बिघ्नबाधा
सबै नाघी चोमोलुङमा ताक्दै उठौँ युवा

सलाम बिहानीले

श्रवण खनाल

गर्दैछ कला रूपान्तरण सलाम बिहानीले
सहनुपर्छ कति जलन सलाम बिहानीले

कसैको डर, धम्की मान्दैन अघि बढ्छ
रोक्ने छैन पक्कै कलम सलाम बिहानीले

सामंतीको गाली र आलोचना कति सह्यो
बनाउदैन कालो बदन सलाम बिहानीले ।

सर्बहाराका पीर, व्यथाहरु बोकी हिड्छ
सुनिदिन्छ सबका क्रन्दन सलाम बिहानीले ।

कालिकोट दुखेको छ

कृष्णपक्ष

फेरि पनि कता कता चोट दुखेको छ
आफ्नै भूमि आफ्नै रगत कालिकोट दुखेको छ

आफ्नैसंग लड़नुपर्ने कति तुच्छ विवशता यो
ब्यर्थै “वीर गोरखाली”को लेखोट दुखेको छ

पैसाको खोलो बग्दा डुब्यो अरे स्वाभिमान
आँखा भरि विदेशी नोट दुखेको छ

सधै साउन झरेको छ नेपालीको आँखाबाट
नियतिमै रहेछ कि खोट, दुखेको छ

घरभित्रै चैन भए कोही किन बिदेशिन्थ्यो?
मुनाको चिहानमा ल्हासा, भोट दुखेको छ

नारीहरु

शकुन आँसु
जिउँदै घाँटी निमोठी मारिएकी नारीहरु
बोल, बोल रापिएर खारिएकी नारीहरु

समानताको अंश खोज्दै एकाएक उठौँ माथि
मान्छेबाट मान्छे तल झारिएकी नारीहरु

लेखान्तको कुरा हुन्न चेतनाको कुरा हुन्छ
बिना न्याय धकेलेरै सारिएकी नारीहरू

घरभित्र हेलिएर घरभित्रै मर्ने मान्छे
तीनै हुन् गृहबन्दी पारिएकी नारीहरु

भयो रे नेपालमा

प्रदीप चापागाँई

सुनेँ आज अर्को फेरि लुट भयो रे नेपालमा,
चोक चोक गल्ली गल्ली गुट भयो रे नेपालमा ।

हस्तक्षेपको ज्वाला फ्याँकी आँखा ताक्दा छिमेकीले,
रुन्छिन् आमा दाजुभाइकै फुट भयो रे नेपालमा ।

स्वार्थ हुन्जेल तपाँइ, हजुर त्यसपछि आफ्नै दुनो,
ठूला भनाउँदाको बोली झुट भयो रे नेपालमा ।

थरी-थरी आन्दोलन छन् मेची देखि महाकाली,
आतंक र बन्द हड्ताल छुट भयो रे नेपालमा ।

भोलि आफैँ खरानी भै उड्छु भन्ने हेक्का नभई,
आफ्नै घर सल्काउन जुट भयो रे नेपालमा ।

माछिखोला

विकास ढकाल

तछाड मछाड गर्नेहरुको लाम छ माछिखोला
भोक मेटाउन झर्ने थुप्रै गाम छ माछिखोला

बाहिर हेर्दा शिष्ट लाग्छ भित्र किर्ते धन्दा
अनुदानको चामल बाँढ्ने ठाम छ माछिखोला

कहिले आउँछ पत्तो छैन धोक्रो भर्ने पालो
ढड्डा सगै हराएको नाम छ माछिखोला

लात हानेर भोको पेटलाई उछिनेर पालो
खरदार रिजाउने बन्द खाम छ माछिखोला

अरु सया भाको पैसो सबै फुट्या कौडि
उल्टो पाल्टो जान्नेको नै दाम छ माछिखोला

मनमा आशा जगाएर उदाउँछ विहान
निराशामै अस्ताउने घाम छ माछिखोला

तिमी

विपल बोयुङ

आँशु पिई प्यास मेट्छौ खडेरीमा तिमी
धाउँछौ आखिर कस्का लािग पँधेरीमा तिमी

बेदनाको बलेसी त्यो बगेको छ अधरबाट
कति पोख्छौ बूँदहरु परेलीमा तिमी

नाम होइन धर्ती भन्ने उपनाम छ तिम्रो
काट्छौ अझै कतिजुनी अँधेरीमा तिमी

बनाएथ्यो सृष्टिकर्ता प्रकृतिले तिमीलाई
रोप्छौ कति आँशुका फूल मझेरीमा तिमी

त्यो संस्कारको दाहसंस्कार गर्नैपर्छ अब
युगले भन्छ, ‘उठ नारी तयारीमा तिमी’