मेरा गाउँलेहरु

मंजु मार्मिका

यहीँ छ जीवन
सँगै बेजोड बस्तीहरु
प्रकाशको निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।

यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पि_िल्सरहेकाछन् पेटहरु
पालिरहेछन् गिठ्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन् छातीहरु ।

भालेको डाँकमा उठ्छन्
मध्यरातमा भोकै सुत्छन्
बाढीले बगाएको उर्वर भूमिलाई
छातीमा राखेर लमतन्न छन्
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।

यहीँ छन् दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन् परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु,

अपाङ्गको बैशाखी खोसेर
सगरमाथा चढिरहेछन्
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन गरिरहेछन्

तर,
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु

सीमापारिका रेडलाइट एरियामा छन्
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तवीजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन ।

र त, अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु

र म पनि

सहिद

विमल निभा

सूर्य त्यत्तिको चम्किलो कहिल्यै थिएन
जत्तिको तिम्रो अनुहार
नदी त्यत्तिको गतिमय कहिल्यै थिएन
जत्तिको तिम्रो गतिवििध
समुद्र त्यत्तिको गम्भीर कहिल्यै थिएन
जत्तिको तिम्रो आँखा
प्रेम त्यत्तिको मायालु कहिल्यै थिएन
जत्तिको तिम्रो व्यवहार
गीत त्यत्तिको कहिल्यै मीठो थिएन
जत्तिको तिम्रो बोली
पहाड त्यत्तिको कहिल्यै अडिग थिएन
जत्तिको तिम्रो सिद्धान्त
बिहान त्यत्तिको सुन्दर कहिल्यै थिएन
जत्तिको तिम्रो माया
हावा त्यत्तिको फुर्तिलो कहिल्यै
जत्तिको तिम्रो कार्यशैली
मुटु त्यत्तिको कोमल कहिल्यै थिएन
जत्तिको तिम्रो ममता
हिउँ त्यत्तिको उज्ज्वल कहिल्यै थिएन
जत्तिको तिम्रो मुस्कान
फूल त्यत्तिको आकर्षक कहिल्यै थिएन
जत्तिको तिम्रो व्यक्तित्व
आगो त्यत्तिको पोल्ने कहिल्यै थिएन
जत्तिको तिम्रो शत्रुप्रतिको दृष्टि
शोषित-पीडित जनताहरुका
हक र हितको लागि सङ्घर्ष गरेर
गौरवभन्दा पनि गौरवपूर्ण
मुत्युलाई अङ्गाल्ने
मेरो देशको प्यारो सहिद !
श्रद्धा त्यत्तिको श्रद्धामय कहिल्यै थिएन
जत्तिको आज तिम्रो सम्झना ।

माघ

यल्जी विवश

पटक-पटक
आगो बाल्यौं
डढेलो लायौं शहर
तर केही भएन
यो जाडोले
तराईमा
हिमालमा
र पहाडमा
धेरै ज्यान लिइसक्यो
तर खै जाडो
डेग चलेन
झन् ठिह्याइरहेछ
झन् तुषारो पर्न खोज्दैछ
जाडो खाने माघलाई
जाडोले पो खाइरहेछ ।

हो,
जाडोले माघ खाइरहेछ
जाडोले मान्छे खाइरहेछ
हेर्दाहेर्दै जाडोले
तराई च्यातेर खान्छ रे
पहाड फोरेर खान्छ रे
हिमाल तोडेर खान्छ रे ।

माघ टोलाइरहेछ
माघमा सामर्थ्य छैन
माघमा हिम्मत छैन ।

आज त यस्तो लाग्छ
जाडो खप्लक्कै खाने त्यो माघ
जन्मेकै रहेनछ ।

दार्बिला गोरुहरु

भुमरी

सिङ जुझाएर
सिङ भँचाएर
हार्न मानेनन्
मारिरहे/मरिरहे
सिङ फुकालेर
अर्काकै खातिर
दार्बिला गोरुहरु ।

इतिहासका चरनहरुमा
अरुले कुल्चिरहँदा
अर्कै तर्फ नारा थापिरहेछन्
ती दार्बिला गोरुहरु ।

डुक्रन अब त
आफ्नै भूमिमा फर्केर
ओ दार्बिला गोरुहरु !

बोनसाई

लक्ष्मी माली

म लहलहाउँदै
कल्कलाउँदै थिएँ
अनायास मेरो स्वच्छन्दता
बाँधिन पुग्यो
मेरा हातहरु
मेरा पाखुराहरु
र गर्दन ।

उसको तारमा बेरिएर
बाँङ्गिन पुगेँ
उसको इच्छामा
उसको निर्देशनमा
मैले आफ्नो आकार बनाएर
उसकै बगैँचा र बैठक कोठामा
शोपिसमा सजिएर
अन्ततः म सुन्दरी बन्न पुगेँ ।

कठिनाको पहाड

-तिलक चाम्लिङ

आगोको ज्वालामा खेल्ने
शिखा टिपेर दिन्छौ भने
अस्मिता  टेकेर उभिएमो कठिनाको पहाड
फुट्ट कटाएर लैजान्छु तिमीलाई
छाप्रोहरुको आफ्नै दुःखी संसार
विहान बोकेर तिमीहामी संगै हिँड्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

आँसु बग्ने अनुहारका धर्सा धर्सा र बलेसीहरु
तिमीलाई’नि हिँड्न सिकाउँला
जोखिम टाँगिएको कठिनाको पहाडमाथि
पहाडै उठाएर हिँडिरहेको
ताँतीका ताँती भरियाहरु हेरौँला
बिहान बोकेर तिमीहामी संगै हिँड्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

ढाकर बोकेर बेसाहाको बाटो हिँडेका
भोको देशका देवताहरुसंग
नक्कली नागरिकता हुँदैन
कालापानीबाट छिर्नै सक्दैन
सुस्ताबाट’नि छिर्न सक्दैन
महँगोमा बेसाएका गहुँका दानाहरु
धाकरको चुली चुल्याएर
भिरैभिर हिँड्ने दुःखी देबताहरुसंगै बसम्ला
तिमीले कठिनाको पहाड चिन्नु पर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

तिमीलाई यहाँबाटै देखाइदिन्थेँ
छाप्राहरुको आफ्नै संसार
छेकिहाल्छ कठिनाको पहाडले
दक्षिणतिरै मोहडा फर्काएर उभिएको
कति हेर्नु यो छली कठिनाको अनुहार
कोही बहादुर जन्मिएन र त होला
हजुरबाको पालाको दुःख
नातिको थाप्लोमा नाम्लोले बेरिरा’छ
तिमी शिखा बोकेर हिँड्नु
हामीले नि आगोको झिल्का टाँग्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

अब झण्डा फेरिनुपर्छ

-नदीश

हाम्रो झण्डाको किनार
नीलो छ
र त, हामी शान्त छौँ
हाम्रो सिमानामाथिको आक्रमणमा

हाम्रो झण्डाको भूइँ
रातो छ
र त, हामी लडिरहन्छौँ
एक-आपसमा

चन्द्र माथि छ हाम्रो झण्डको
सूर्य तल छ
र त, हामी भ्रमित छौँ
सूर्यभन्दा शक्तिशाली छ चन्द्रमा

अब झण्डा फेरिनुपर्छ
चन्द्र-सूर्य उल्ट्याइनुपर्छ
भूइँ नीलो

किनारा रातो बनाइनुपर्छ ।