तिलक चाम्लिङ
फुल्न नपाई
खण्डारी भमराले
तारतुर पारेर
च्यातेको फूलको कोपिलाजस्तै
कलिलै उमेरमा
धुलोले प्रक्प्रक् फुटेको हातले
वियरको जुठो ग्लास
स्वाइँस्वाइँ मस्काउँथी
मेजर सापको
किचेनको
आल्मारी चिटिक्कै सजाउन
अलिसदाकी छोरी हुँ भन्थी -नाम राममाया
चुङ्गी खेल्ने
सङ्गैको सङ्गाती छोडेर
शहर आइपुगेकी रैछिन् व्याज्मारामा
निकै पहिले भेट्दा
आमाको साह्रै माया लाग्छ भन्थी
साह्रै हतारको जिन्दगी पाकी रैछ
मेरी बहिनीजत्रै
उमेर ठ्याक्कै १० वर्षकी
ह्याङ्गरमा झुन्डिएको
मैसापको
कलेज ड्रेसमा
टाँसिएको धुलोधालीका टुक्राहरु
गुच्छा हानेझैँ चोर औँलाले
फ्याटफ्याट फट्कार्दा
खसेको धुलोजस्तै दुःखको जिन्दगी
राममाया ! क्या अभागी रैछस् तँ पनि
अनिकालमा बेसाहा जाँदा
पैह्रोले बगाएकी मेरी बहिनीजस्तै ।
Filed under: कविता |
Leave a Reply