निभा शाह
घर खोरजस्ता
स्कूल गोठजस्ता
मेरो गाउँ यस्तै छ
मैले भोट हाली बनाएको
सरकारको गाउँ कस्तो छ
भित्ता डोकाजस्ता
दलिन नर्कटजस्ता
मेरो गाउँ यस्तै छ
मैले भोट हाली बनाएको
सरकारको गाउँ कस्तो छ
ढोका गुफाजस्ता
मझेरी बगरजस्ता
भकारी अनिकालजस्ता
चुला हिउँजस्ता
*बच्छो जडौरीजस्ता
चप्पल च्यात्तेजस्ता
पेट चाम्रेजस्ता
आँखा ख्याउटेजस्ता
हात त्यान्द्राजस्ता
खुट्टा हुट्टियाउँजस्ता
बच्चा माउसुलीजस्ता
आमा झिङ्गे माछाजस्ता
मेरो गाउँ यस्तै छ
मैले भोट हाली बनाएको
सरकारको गाउँ कस्तो छ
सपना बेलुनजस्ता
विपना बेलुन फुटेजस्ता
मेरो गाउँ यस्तै छ
मैले भोट हाली बनाएको
सरकारको गाउँ कस्तो छ
*(लुगा)
Filed under: कविता |
Leave a Reply