जून मन लाग्यो

मुना निश्चल

बाँसुरीको मन्द-मन्द धुन मन लाग्यो
अँध्यारोलाई भगाउने जून मन लाग्यो

बोलू-चलूँ आज्ञा छैन जुठेल्नोमै बन्दी नारी
बन्द कोठा मन्द आवाज रुन मन लाग्यो

चल्ला जति कता पसे सिकारीको चहलपहल
आधा-आकाश उडीउडी छुन मन लाग्यो

युगौं-युग चौका हेरी सही बस्ने मौका हैन
हितको लागि बग्ने शुद्ध खून मन लाग्यो

Advertisements

फूलमाया मुस्कुराउने दिन

कला अनुरागी

इतिहास लेखिनु अघिकै दिनहरुदेखि
पर्खिरहेकी छे फूलमाया
ऊ साँच्चै मुस्कुराउने दिन ।

तिमी देख्न सक्छौ
मुस्कुराउन त मुस्कुराउँछे
हिजोआज पनि फूलमाया
काँडाघारीको बीचमा पनि मुस्कुराउने
सुन्दर जङ्गली फूल हो ऊ
जानेकी छ उसले कोपिलैदेखि
दुखको बीचमा पनि मुस्कुराउन
तर सुखमा मुस्कुराउनु
र दुखमा पनि मुस्कुराउनुबीच
क्षितिजमा जोडिएजस्तो देखिने
आकाश र धर्तीजस्तै भ्रमपूर्ण छ नाता ।

शोषण नामको शीतलहर
बाह्रै महिना चल्ने उसको पहाडी गाउँमा
तिमी भेट्न सक्छौ उसलाई
नुहाउँदै गरेकी तातो पसिनाले
ऊ बस्न चाहन्छे
आफ्नै हृदयजस्तै सफा र सुन्दर ।

दुख नामको हिमपात
चौबीसै घण्टा भइरहने
ब्वाँसे हो गाउँको नाउँ
जहाँ दर्ता बिना नै
हिमाल चढ्दा हिउँले पुरिएको
गुमनाम पर्यटक झैँ
पुरिएका छन् उसमा तन्नेरी सपना हिमपातले
तर फाल्न चाहन्छे ऊ
अक्षरहरुको सावेलले
सपनामाथि जमेको हिउँ
र जोर्न चाहन्छे
आफ्नो कटेरोको अँगेनुमा आगो ।

पाँच कोश टाढा छ स्वप्नील पाठशाला
र बाटाको हिउँ फाल्दा-फाल्दै
पौने दश देखाउँछ उसको घाम घडी
ऊ यतिखेर आक्रामक छापामार हुन्छे
बाटैमा रोक्न सकिदैन उसलाई
खोतल्न सकिदैन उसको झोला
जसभित्र हुन्छन् खतरनाक मिसाइलहरु
जसभित्र खिपेकी छ उसले
अक्षरहरुको अणुबम सल्लाको दियालोमा ।

पाठशालामा उसका गुरुहरु
सवा दशबजे पाठशाला आएकोमा
खाली राख्छन् उसको हाजिरी
र सवा बाह्र बजे आएर
गर्छन् आफ्नो हाजिर
तर दिन सक्दैनन् उसको प्रश्नको उत्तर
किन पग्लन सकिरहेको छैन
उसको बाटो छेक्ने हिउँ
यो सबैभन्दा तातो मानिएको
गणतन्त्र नामको घामले

ओ पि्रय पाठक
तिमी दिन सक्छौ उत्तर
कहिले पग्लन्छ हिउँ
र आउँछ फूलमाया साँच्चै मुस्कुराउने दिन ?

किन ताप्छौ आगो ?

नाकिमा

किन ताप्छौ आगो ?
जलाएर अरुको घर
हुँदैन र काफी न्यायो ?
आफ्नै आमाको काख

जिउँदै छ इतिहास
जितेको नालापानी
साक्षी छ वर्तमान
दुखेको कालापानी
किन खेल्छौ परेड ?
आएर अरुको आँगन
हुँदैन र काफी ठूलो ?
आफ्नै आमाको काख

प्यास मेट्दा तिमीले
सुकिदिन्छ मेरो पहाड
बाटो छेक्दा तिमीले
डुबिदिन्छ मेरो मधेश
किन ताप्छौ आगो ?
जलाएर अरुको घर
हुँदैन र काफी न्यायो ?
आफ्नै आमाको काख

जिऊँ शानसँग

बूँद राना

जिऊँ शानसँग मरौँ शानसँग
नितान्त नौलो पहिचानसँग

खडेरी सहेको बिरुवाले भन्थ्यो
चिनाजान भर्खर भयो ज्ञानसँग

मभित्र मबाट कमी खोजिँदैछ
नतान मलाई गुणगाणसँग

लडी कालसँग बरु मर्नु जाती
तर ज्यून गाह्रो अपमानसँग

विनाभोज भेटी ऊ बाँच्दैन आफै
किन हात थापूँ म भगवानसँग

गुलावी कवितामा विद्रोह

चन्द्रवीर तुम्बापो

सक्तिन चाहेर पनि
रङ्गीन तिम्रा चाहानाहरु
गुलाबी कवितामा उतार्न ।

झुल्कनुपर्छ अक्षरहरुको भाज्याङबाट
रापिलो घाम – विद्रोह
र धावा बोल्नुपर्छ
उज्यालोलाई भयभित बनाई अँध्यारोको शासन गर्ने
रात विरुद्ध ।

थुन्नुपर्छ मैले – छाँगाबाट आत्महत्या गर्न
पत्थर समातेर घिसि्रँदै गइरहेको
प्राचीन भोकहरुको रोदन खोला – कवितामा
उन्नुपर्छ मैले – ओइलिनपूर्व
हाँगाबाट झर्न लागेका आशाका खिनौटो किरण
भविष्यका रङ्गहरु … कवितामा
कहाँ छुट्टी छ र ! मलाई
तिम्रो परेला जस्तो चलायमान
रहर इन्द्रेणी
कविताको सिमसार माथि-माथि टाँग्न ।

तर आँखाले तानेर ह्दयले चुम्नु
पहरारुपी मेरो छातीको काँपकाँपमा
इच्छाहरु प्रेममा मगमग हाँसेका छन्
अम्लारी* फूलमा
तर भर्खरै आगोले कुल्चेर गएको
कलिला सपनाहरुको प्रदेशमा
रोप्नुपर्छ वसन्त
हरियो बीऊ कविताको ।

झड्केलो इतिहासको भेलले उछिट्याएको
इहीँ ढुङ्गेनी पाखोमा
उभ्याएको छु समय सङ्गीतको घण्टाघर ।
क्षितिजहरुको थुम्काथुम्काबाट
ब्यूँझाएर समय सङ्गीतले
सुनामी जुलुस
मोर्चाको अघिल्लो हरफमा
फुटाउँदैछु आपुनो निधार
चहकिलो विजय सवाल्टर्नहरुको लागि ।

कहाँ छुट्टी छ र ! मलाई
तिमी हाँस्दा तिम्रो गालाको
खोपिल्टामा फूल भएर चटक्क फुल्न ।

तर तिम्रो रेशमी स्पर्शले
टक्क रोकिन्छ विद्रोहमा उपि्रुरहेको मुटु
सँगसँगै अडिन्छन् टक्क गतिशील खुट्टाहरु ।

बिडम्बना ! यस बखत
तिमीलाई मनपर्ने कविता कोर्नु
एउटा परिवर्तन फेरि दुर्घटित हुनु हो ।

साँच्चै !
सक्तिन चाहेरै पनि
रङ्गीन तिम्रा चाहानाहरु
गुलाबी कवितामा टक्रक्क उतार्न ।

*सुनाखरी फूल : लिम्बू समुदायमा प्रेमको प्रतीकको रुपमा लिइने फूल ।

स्वर्णिम इतिहास

गोविन्द पुन ‘गिरीश’

युवा नै हो मेरुदण्ड देश विकासको
युवा नै हो निर्माता स्वर्णिम इतिहासको

नयाँ युग निर्माण गर्ने नायक हो युवा
समयको गीत गाउने गायक हो युवा
युवा नै हो चन्द्रसूर्य यही आकासको
युवा नै हो निर्माता स्वर्णिम इतिहासको

फुटाउँछन् यही धर्तीमा पसिनाको मूल
फुलाउँछन् यही धर्तीमा सिर्जनाको फूल
रगतको फूल हो युवा लालीगुराँसको
युवा नै हो निर्माता स्वर्णिम इतिहासको

निरङ्कुशता ढल्छ एकदिन

सन्त थलङ

आफैभित्र खोकि्रएर निरङ्कुशता ढल्छ एकदिन
उन्मुक्तिको फूल फुल्ने शासन पनि चल्छ एकदिन

सधै कहाँ टिक्न सक्छ भ्रम छर्ने व्यवस्था यो
जनतासामु कहाँ टिक्छ पहाड पनि गल्छ एकदिन

अँध्यारोको स्तूतिमा जति भजन गाऊ तिमी
थाहै नपाई चेतनाको दीप पनि बल्छ एकदिन

पौरखी हातहरुले सिन्चेपछि तातो श्रम
मरु्भूमि किन नहोस् मोतीदाना फल्छ एकदिन

चैत-बैशाखको धुपमा डढेलो सल्केपछि
अनकन्टार जङ्गल पनि क्षणभरमै जल्छ एकदिन