कालिकोट दुखेको छ

कृष्णपक्ष

फेरि पनि कता कता चोट दुखेको छ
आफ्नै भूमि आफ्नै रगत कालिकोट दुखेको छ

आफ्नैसंग लड़नुपर्ने कति तुच्छ विवशता यो
ब्यर्थै “वीर गोरखाली”को लेखोट दुखेको छ

पैसाको खोलो बग्दा डुब्यो अरे स्वाभिमान
आँखा भरि विदेशी नोट दुखेको छ

सधै साउन झरेको छ नेपालीको आँखाबाट
नियतिमै रहेछ कि खोट, दुखेको छ

घरभित्रै चैन भए कोही किन बिदेशिन्थ्यो?
मुनाको चिहानमा ल्हासा, भोट दुखेको छ

लेखक

स्व. स्वप्निल स्मृती

ठीक यतिखेर भने
म पनि केही न केही नलेखी रहन सक्दिन ।

जब कि-
अखबारमा साभार छ
उहीँ निरो र बाँसुरीको कथा
प्रेमीहरु लेखिरहेछन्
खिर्राको पातमा तप्तप्…।
आजीवन ट्राजेडी
आँखा चिम्लेर सिपाहीहरु लेखिरहेछन्
गृहयुद्धको दैनिकी
न्यायाधीसहरु- ल्यापटपमा लय मिलाइरहेछन्-श्रृङ्खलामय फाँसीको
भने
मसमेत केही न केही लेखिरहेको छु ।

विक्षिप्त केही संवेदनाहरु
जिजिविषाबाट राजीनामा-पत्र लेखिरहेछन्
डाँकुहरु लेखिरहेछन् शान्तिको प्रतिवेदन
रङ्ग्याएर उल्टो झुण्ड्याएका छन्-
बच्चाहरुले प्यारो देशको कार्टुन
जासुसले नोट गर्दैछ ठीक यतिखेर
‘व्ल्याक लिस्ट’मा मेरो नाम
भने
आफैँ अनुमान गर्नुहोस्
म के लेखिरहेको छु-

धर्तीमा कोरिएका छन्-
जसरी नदीहरु गोरेटाहरु नागबेली
जस्तो किसानले पट-बाँझोमा
‘भर्जिन’ धर्का तान्छ हलोले
चट्ट्याङ पर्दा कस्तरी क्षितिजमा
युगीन दस्तखत गर्छ-बिजुलीले
जरुर म केही न केही लेखिरहेको छु…

सङ्घर्ष नै रहेछ जीवन

विष्णु श्रापित

सङ्घर्ष नै रहेछ जीवन सङ्घर्षमै बाँच्नु पर्ने
ऊ नै बन्छ महान् मान्छे सयौँ जङ्घार तर्ने

आशा बोकी बाँच्यौँ भने जीवन माथि हुन्छ
जीवनसँग हार्ने मान्छे सधैँ कायर बन्छ
हैन निरास जीवन हाम्रो हरेस खाई मर्ने
ऊ नै बन्छ महान् मान्छे सयौँ जङ्घार तर्ने

मृत्यु पनि बाँच्दो रहेछ इतिहास कोरे
पुज्य बन्छ तिनै मान्छे देशको लागि मरे
हैन हाम्रो यो जिन्दगी पात भई झर्ने
ऊ नै बन्छ महान् मान्छे सयौँ जङ्घार तर्ने

नारीहरु

शकुन आँसु
जिउँदै घाँटी निमोठी मारिएकी नारीहरु
बोल, बोल रापिएर खारिएकी नारीहरु

समानताको अंश खोज्दै एकाएक उठौँ माथि
मान्छेबाट मान्छे तल झारिएकी नारीहरु

लेखान्तको कुरा हुन्न चेतनाको कुरा हुन्छ
बिना न्याय धकेलेरै सारिएकी नारीहरू

घरभित्र हेलिएर घरभित्रै मर्ने मान्छे
तीनै हुन् गृहबन्दी पारिएकी नारीहरु