Posted on April 28, 2010 by salambihani
पारिजात
तिमी मलाई सारङ्गीका केही धुनहरु देऊ-
म तिमीलाई एउटा विवश गरिबको व्यथा भन्छु
म तिमीलाई एउटा छाप्रो जलेको रहस्य भन्छु
तिमी दुःखद जीवनहरुलाई धुनमा फेर
म तिम्रो सारङ्गीसँग एउटा गीत साट्छु
दुःखहरुको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रुन्छौ म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो
जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो
जो डढेलामा फेरिन सक्छ
तिमी मलाई अब यी दुःखहरुको सिङ्गो धुन देऊ
म यी दुःखहरुलाई आजका सिङ्गा गीतहरुमा फेर्छु
म यी गीतहरुलाई प्रतिशोधका रापहरुमा फेर्छु ।
तिमी मलाई केवल मन पगाल्ने धुन देऊ
म तिमीलाई इतिहास फेर्ने गीत दिन्छु
तिमी मलाई आफ्नो सारङ्गीका केही धुनहरु देऊ
म गीतहरुलाई परिवर्तनको इतिहासमा फेर्छु ।
Filed under: गीत | Leave a comment »
Posted on April 26, 2010 by salambihani
नदीश
‘कति सुन्दर तिम्रा आँखा’ भनिदिन्छु म’नि
‘सपना सुन्दर देख्छु नि त!’ यसो भन्छिन उनी
तिमी बिना मर्छु भन्दा अचेल साह्रै रिसाउँछिन
त्यस्ता कुरा गर्नेहरु कायर हुन्छन भनी
चुनौती केही छैन भने जीवन हैन अरे
मलाई ज्यून सिकाउने उनी नै त हो नि
बेग्लै हुन्छन कुरा हाम्रा खोज नयाँ नयाँ
माया प्रेमका कुरा सँधै कति गर्नु त नि !
ल्होसारमा नाचिदिन्छु उनी दशैँ टीका थाप्छिन
हाम्रो देश हामी भित्रै अटाइदिन्छ अनि
सस्तो प्रेम वासनामै सिमित भा’छ आज
अरु भन्दा हाम्रो जोडी कति भिन्न छ नि
Filed under: गजल | Leave a comment »
Posted on April 24, 2010 by salambihani
भरत लामा
को भन्छ तिमी मर्यौ
मर्दैन वलिदान कहिल्यै
तिमी देश भएर बाँच्यौ
तिमी हिमाल भएर उभियौ
तिमी मरेर सधैँ बाँच्यौ
शोषितको आँट भएर
त्यो बाँचेर सधैँ मर् यो
पसिना अरुको पिएर
को भन्छ…..
तिमी धु्रव ताराभैष अटल छौ
यहीँको धुलोमा कहीँ छौ
तिमी मेची-कालीभित्रै छौ
तिमी आमाको काखमा यहीँ छौ
को भन्छ…..
Filed under: गीत | Leave a comment »
Posted on April 23, 2010 by salambihani
दीपा एवाई राई
पैह्रोले लानै आँटेको
आयुआयु परेको गाउँ
सिन्कौलीको रुख उस्तै छ
तर मक्केको रहेछ ढुङ्ग्रो
बाटाभरिका अम्लिसो
अनि तीतेपाती पनि उस्तै छ
तर सिस्नुका बुटाहरु पातलिएछन्
म टाँकीको छेउबाट
तल्लो कल्ला र माथिल्लो कल्लाका
काफल र कटहरका रुखमा
भर्लाको बोट मौलाएर
टोटलाहरु लत्रिरहेको देख्छु
मेरो माकाधुपालाई
रमिते डाँडाले हेरिरहेको छ
सुनेँ पहिरोको डरले
गाउँले शहरतिर पस्दैछन् रे
गन्तव्यमा म रात पर्नुअघि पुग्नु छ
किनभने कोमासँग
ढुङ्ग्री बुलाकी रेजी लगाएर मर्चुङ्गो बजाउनु छ
अनि कोपासँगै
गुलेली मटेङ्ग्रो र धनुष लिएर
सिकारमा पनि जानु थियो ।
ढोकाभित्र प्रवेश गरेँ
कसले-चलाएर हो या नचलाएर
अगेनाका चुला ढुङ्गाहरु
टुकि्रएका थिए
छानोमा सिउरिएको खुर्पा खुकुरी याम्टा र वाबुङसीमा
धुलो जमेको रहेछ
छेवैमा डेवाको ढोल ढयाङ्ग्रोसँग
घुङ्गघुरी जतनसँग राखिएको थियो
मेरो घरगाउँमा धमिरा लागेछ
माकुराको जालो
सिन्कोले बिस्तारै हटाउँदै
बाहिर निस्कन्छु
धुमिलिएको आकाशमा
वरिपरि चील घुमिरहेको छ
मेरो आँगनमा बाबरी मखमली
र सयपत्री फूलहरुमा
झोर मौलाएर फूलहरु छोपिरहेछ
अब गोडमेल गरेर पैह्रो रोक्नु
म रमिते डाँडाबाट
हरियो बुटा ल्याउँछु ।
Filed under: कविता | Leave a comment »
Posted on April 23, 2010 by salambihani
तारा थुलुङ ‘अथाह‘
क्षितिजबाट चेतनालाई डाक्दै उठौँ युवा
देश निर्माणको बाटोतिर लाग्दै उठौँ युवा
कति गह्राँै जिम्मेवारी हेर हाम्रो काँधमािथ
हतारिदै चटारिदै जाग्दै उठौँ युवा
तुवाँलोको बस्तीभित्र खोज्नुपर्छ भविष्य त्यो
घामसित नयाँ किरण माग्दै उठौँ युवा
नयाँ नेपाल बनाउने सपनालाई साकार पारौँ
छातिभरि देशको चित्र छाप्दै उठौँ युवा
अझै पनि हाम्रा सामु ‘अथाह’ छन् बिघ्नबाधा
सबै नाघी चोमोलुङमा ताक्दै उठौँ युवा
Filed under: गजल | Leave a comment »
Posted on April 18, 2010 by salambihani
मनु लोहोरुङ
काल्पनिक वायुयानबाट
भूमध्यसागरको तटमा
अवतरण हँुदाको पल
पूर्वतिर फिकंर्दा बादलमा
खाडलमाथिको जमिन
सर्लक्क आफ्नै भूमिको
मानचित्र देख्छु ।
ढुङ्गे मनको पहाडहरु
अब बिस्तारै खस्छन्
विचारका ब्लास्टिङ
पड्किनु र पड्काउनुको
उँभोगतिले चोइटिएर…।
कोर्काली वस्तीमा
हो ! त्यस्तै
भित्ता फोर्ने निर्जन आवाजको खाँचो छ ।
हो ! अब
भूत हाँस्ने रातहरुमा
जूनले पाइला टेक्नेछ
औंशी पोखिएका दिनहरु
सोचको पूर्णिमा फुलेर
अब चिमाल हुनुपर्छ
किनकि सृष्टि अटल हुनुमा
दृष्टि बदल्नु पर्छ ।
झुल्के घाम डस्ने गोमन सर्पहरुको
सुख्खा प्रान्तमा
हो ! अब
छातीभरि लालसागर
निश्चल तरङ्गहरु…।
करुणा र मानवताको
सभ्यताको नीलो रङ्ग
ब्रह्माण्डमा पोखिनु पर्छ ।
सागरमाथको गाथासँगै
हजारौँ लुङमारी कथाहरु
अब कोरिनेछन्
मुन्धुमको भाकामा
आ-आफ्नै लिपीमा
अहिलेसम्म डढेका
मनका व्यथाहरु खिपी
अब फेदाङमाहरुले पनि
युगको जोखाना फलाक्नु पर्छ ।
भूमिका अनुरागीहरु हो !
सचेत जीवनको इन्द्रेणी
सर्वोपरी फैलाऊ !
सदियौँदेखि कठ्याङ्गि्रएका
बैंशालु हिमालहरुमा
अब पानी होइन
आगोको वर्षा हुनुपर्छ
मानव बस्तीभित्रका
अपमानित जीवन-फूलहरु
युगीन शीतले बौरिनुपर्छ ।
Filed under: कविता | Leave a comment »
Posted on April 18, 2010 by salambihani
राजन मुकारुङ
स्याबारे ! स्याबारे ! स्याबारे !
म त उही मान्छे स्याबारे !
बैसाखी छ साथी
यही टेक्दै आएँ
चिनेनौ कि कसो
उही मान्छे परेँ स्याबारे !!
हैया स्याबारे !
जसले फाँड्यो भस्मे-खोरिया चुम्यो धरती
जसले थप्यो पुर्खा-पसिना गर् यो आवादी
उसकै युद्ध लडँे म आफै पो हारेँ
चिनेनौ कि कसो
उही मान्छे परेँ स्याबारे !
यही माटो मेरो चिनारी राखेँ सिरानी
पुर्खा-धर्म थाम्ने इतिहास थामँे निसानी
जिन्दगीको बाजी अब मैले हारेँ
चिनेनौ कि कसो
उही मान्छे परेँ स्याबारे !
हैया स्याबारे !
म त उही मान्छे स्याबारे !
Filed under: गीत | Leave a comment »
Posted on April 14, 2010 by salambihani
श्रवण खनाल
गर्दैछ कला रूपान्तरण सलाम बिहानीले
सहनुपर्छ कति जलन सलाम बिहानीले
कसैको डर, धम्की मान्दैन अघि बढ्छ
रोक्ने छैन पक्कै कलम सलाम बिहानीले
सामंतीको गाली र आलोचना कति सह्यो
बनाउदैन कालो बदन सलाम बिहानीले ।
सर्बहाराका पीर, व्यथाहरु बोकी हिड्छ
सुनिदिन्छ सबका क्रन्दन सलाम बिहानीले ।
Filed under: गजल | Leave a comment »
Posted on April 9, 2010 by salambihani
कृष्णभूषण बल
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिँगै नेपालको अर्थ लगाउन सक्दैन
नाघ्नुपर्छ पैतालाहरुले अब भाज्याङहरु
टेक्नुपछै आँखाहरुले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखी झै फुटेनुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन ढुङ्गाको तह तह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन थुप्रै दह दह जम्नुपर्छ
हुटिट्याउँले सगर थाम्न खाजेर-थामिन सक्दैन सगर
बर्खे भेलको सानो चपेटले-मेट्न खोजेर मेटिन्न बगर
पहाड मधेस थुम्काथुम्की र उकालीओरालीको देश
कसैको पेवा होइन कसैले ठेक्का लिएर पनि हुने हैन
मुहान जो बग्नुपर्छ जम्नु यसको कुनै अर्थ हुदैन ।
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिँगै नेपालको अर्थ लगाउन सक्दैन ।
खोरमा थुनिएर पनि बिहानीको संकेत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्यक सुरहरुमा घोडा छादेर त्यतिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई त्यतिकै चाबुक लगाइरहेछ एउटा उपहास ।
अनिष्ठ भन्छन् सपनामा देख्नेहरु पनि यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातिमाथी बोकिरहेकै छ यस्ता कति कति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटै इतिहासको मात्र हुदैन देश
-काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
-काठमाण्डू वास्तवमा भित्रभित्रै गु_िम्सएको छ
माजुश्रीको अर्को तरवारको विकास खोजिरहेको छ ऊ
युगका गह्रौं पाइलाहरु अब धेरै बोक्न सक्दैन-
यसैले बग्ने निकास खोजिरहेको छ ऊ
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिँगै नेपालको अर्थ लगाउन सक्दैन ।
Filed under: कविता | Leave a comment »
Posted on April 7, 2010 by salambihani
नदीश
खुला छ आकाश पहाडको बाहना नगर
सिँगार धर्ती स्वर्गको चाहना नगर
त्यागेर जीवन मृत्युलाई अँगाल्छौ जसरी
भागेर आफै संसारलाई नियाल्छौ कसरी
धेरै छन् बाटा पर्खालको बाहना नगर
सिँगार धर्ती स्वर्गको चाहना नगर
बुझेर जीवन दुखसँगै हाँस्नेहरु कति
पसिना रोपी आगनीमा नाच्नेहरु कति
पूर्णिमा हेर औँशीको बाहना नगर
सिँगार धर्ती स्वर्गको चाहना नगर
Filed under: गीत | Leave a comment »