Posted on March 27, 2010 by salambihani
देवविक्रम राई
म भीष्म धिमाल
म लौरो, म भर्याङ
म हलो, म गोठालो
मलाई प्रिय लाग्छ गन्ध-गोबरको ।
म उनीहरुकै हुँ
जसले मलाई टेकेर तरे राजनीतिको खतरा भेल
म तिनीहरुको नै थिएँ
जसले मलाई टेकेर टपे राजनीतिको विकट भीर
मैले जोतेँ, मैले मलेँ
उनीहरुको तकदीरको बाँझो खेत
र फलाएँ उनीहरुका लागि
सत्ताविलासको गुलियो फल ।
मैजस्तो टायरमा चप्पल त लाउँथे नि उनीहरु
मेरै छाप्रोको ढिँडो-गुन्द्रुकमा नै त
आत्मसन्तुष्टिका साथ जिभ्रा फट्कार्थे उनीहरु
दुःखी दुःखीलाल सतारका लागि
आकाशमा तारा नै टिपेर दिने कुरो गर्थे ।
थियौँ सँगै हामी
थिएँ साथमा
आदिवासी गाँउको एउटा सुन्दर पुूल-मणिलाल राई
हिँड्दा-हिँड्दै म हराएँ
कणिलाल पनि कतै ओइलाए
सतिसालजस्तै टिक्नलाई त
सयौँ बिगाहा मौजा हुनुपर्दो रहेछ-पुर्खाको
घरै दाइजो हुनुपर्दोरहेछ-श्रीमतीको
फाँड्न सक्नुपर्दोरहेछ सिँदुबारी-साथी सहिदको
वा घरुवा थापेर
ढडियामा कोच्न सक्नुपर्दोरहेछ आफ्नै सहयात्रीलाई ।
सुन्छु आज पनि उही सारङ्गी पेट-दुःखीलालको
सम्झन्छु बारम्बार उही ओइलाएका मणिलाल
देख्छु उही सनातन आँशुनदी प्यारो देशको
अनि रुन्छु मायामा, खूब रुन्छु ।
म भीष्म धिमाल
आफू त दुःखी ग्वाला
म आजकाल सिंहदरबारदेखि अलिक पर
ठेम्चो ललितपुरमा गाई पाल्छु
मलाई सबैभन्दा प्रिय लाग्छ गन्ध-गोबरको ।
Filed under: कविता | Leave a comment »
Posted on March 27, 2010 by salambihani
टीका चाम्लिङ
आदिम पुर्खा थलो ढोगी भित्रिमनले चुम्छु
आदिवासी चेली हुँ म ऋतुजस्तै घुम्छु
कहिले पुग्छु किराती गाउँ भूमे साकेवामा
कहिले पुग्छु हिमाली गाउँ फालो लाफेवामा
सबको लागि चेतनाको म नयाँ तान बुन्छु
आदिवासी चेली हुँ म ऋतुजस्तै घुम्छु
कहिले पुग्छु तमुवानको रोधी सोरठीमा
कहिले पुग्छु थारुवानको होलिया माघीमा
सबको लागि एकताको चोमोलुङमा छुन्छु
आदिवासी चेली हुँ म ऋतुजस्तै घुम्छु
Filed under: गीत | Leave a comment »
Posted on March 23, 2010 by salambihani
प्रदीप चापागाँई
सुनेँ आज अर्को फेरि लुट भयो रे नेपालमा,
चोक चोक गल्ली गल्ली गुट भयो रे नेपालमा ।
हस्तक्षेपको ज्वाला फ्याँकी आँखा ताक्दा छिमेकीले,
रुन्छिन् आमा दाजुभाइकै फुट भयो रे नेपालमा ।
स्वार्थ हुन्जेल तपाँइ, हजुर त्यसपछि आफ्नै दुनो,
ठूला भनाउँदाको बोली झुट भयो रे नेपालमा ।
थरी-थरी आन्दोलन छन् मेची देखि महाकाली,
आतंक र बन्द हड्ताल छुट भयो रे नेपालमा ।
भोलि आफैँ खरानी भै उड्छु भन्ने हेक्का नभई,
आफ्नै घर सल्काउन जुट भयो रे नेपालमा ।
Filed under: गजल | Leave a comment »
Posted on March 21, 2010 by salambihani
नाकिमा
केही वर्षअघि
भैरवगणमा
चुसेर कैयौं राता फूलहरुलाई
पुरिदिए शिवपुरी जङ्गलमा
एक ब्यारेक बन्दुकहरुले
पोहोर साल
बेलबारीमा
एउटा आदिवासी फूललाई
किचिमिचि पारी निलिदिए
केही बन्दुकहरुले
यो पटक
सुर्खेतमा
तीन बोट दलित फूलहरुलाई
दलदाल गरी चुँडाई फालिदिएका छन्
फेरि बन्दुकहरुले
कसरी हुनसक्छन् फूलहरु सिकारी ?
किन ख्वाइरहनुभएको छ भात
ती बलत्कारी बन्दुकहरुलाई ?
बेचिसक्नुभो तपाइँले आफ्नो मुटु ?
प्रश्नमाथि प्रश्न गरिरहेछन्
पत्रकारका आँखाहरु
निरुत्तर हुनुहुन्छ
रक्षामन्त्री ज्यू ।
Filed under: कविता | Leave a comment »
Posted on March 17, 2010 by salambihani
राजु एन राई
गाउँमा मलाई सानो जात भन्छन्
समाजमा हजुर पानी नै चल्दैन
उस्तै हो शरीर रातो खुन बग्ने
शरीरमा हजुर पानी त बग्दैन
तोकेको हुन्न सानो र ठूलो
आमाको कोखलाई
लेखेको हुन्न रगतमा पनि
धर्म र जातलाई
गाउँमा मलाई अछुतो भन्छन्
समाजमा हजुर घरबार चल्दैन
उस्तै छ शरीर रातो खुन बग्ने
शरीरमा हजुर पानी त बग्दैन
उस्तै छ जीवन सबैको प्यारो
उही धर्ती उही आकाश
सबैको जीवन मट्टीमा मिल्छ
उही मृत्यु उही आवास
श्रम पनि चल्छ सीप पनि चल्छ
खै किन हजुर पानी नै चल्दैन
उस्तै हो शरीर रातो खुन बग्ने
शरीरमा हजुर पानी त बग्दैन
Filed under: गीत | 2 Comments »
Posted on March 17, 2010 by salambihani
विकास ढकाल
तछाड मछाड गर्नेहरुको लाम छ माछिखोला
भोक मेटाउन झर्ने थुप्रै गाम छ माछिखोला
बाहिर हेर्दा शिष्ट लाग्छ भित्र किर्ते धन्दा
अनुदानको चामल बाँढ्ने ठाम छ माछिखोला
कहिले आउँछ पत्तो छैन धोक्रो भर्ने पालो
ढड्डा सगै हराएको नाम छ माछिखोला
लात हानेर भोको पेटलाई उछिनेर पालो
खरदार रिजाउने बन्द खाम छ माछिखोला
अरु सया भाको पैसो सबै फुट्या कौडि
उल्टो पाल्टो जान्नेको नै दाम छ माछिखोला
मनमा आशा जगाएर उदाउँछ विहान
निराशामै अस्ताउने घाम छ माछिखोला
Filed under: गजल | Leave a comment »
Posted on March 15, 2010 by salambihani
मंजु मार्मिका
यहीँ छ जीवन
सँगै बेजोड बस्तीहरु
प्रकाशको निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।
यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पि_िल्सरहेकाछन् पेटहरु
पालिरहेछन् गिठ्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन् छातीहरु ।
भालेको डाँकमा उठ्छन्
मध्यरातमा भोकै सुत्छन्
बाढीले बगाएको उर्वर भूमिलाई
छातीमा राखेर लमतन्न छन्
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।
यहीँ छन् दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन् परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु,
अपाङ्गको बैशाखी खोसेर
सगरमाथा चढिरहेछन्
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन गरिरहेछन्
तर,
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु
सीमापारिका रेडलाइट एरियामा छन्
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तवीजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन ।
र त, अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु
र म पनि
Filed under: कविता | 1 Comment »
Posted on March 12, 2010 by salambihani
किशोर चाम्लिङ
बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
Filed under: गीत | Leave a comment »
Posted on March 12, 2010 by salambihani
विपल बोयुङ
आँशु पिई प्यास मेट्छौ खडेरीमा तिमी
धाउँछौ आखिर कस्का लािग पँधेरीमा तिमी
बेदनाको बलेसी त्यो बगेको छ अधरबाट
कति पोख्छौ बूँदहरु परेलीमा तिमी
नाम होइन धर्ती भन्ने उपनाम छ तिम्रो
काट्छौ अझै कतिजुनी अँधेरीमा तिमी
बनाएथ्यो सृष्टिकर्ता प्रकृतिले तिमीलाई
रोप्छौ कति आँशुका फूल मझेरीमा तिमी
त्यो संस्कारको दाहसंस्कार गर्नैपर्छ अब
युगले भन्छ, ‘उठ नारी तयारीमा तिमी’
Filed under: गजल | Leave a comment »
Posted on March 5, 2010 by salambihani
विमल निभा
सूर्य त्यत्तिको चम्किलो कहिल्यै थिएन
जत्तिको तिम्रो अनुहार
नदी त्यत्तिको गतिमय कहिल्यै थिएन
जत्तिको तिम्रो गतिवििध
समुद्र त्यत्तिको गम्भीर कहिल्यै थिएन
जत्तिको तिम्रो आँखा
प्रेम त्यत्तिको मायालु कहिल्यै थिएन
जत्तिको तिम्रो व्यवहार
गीत त्यत्तिको कहिल्यै मीठो थिएन
जत्तिको तिम्रो बोली
पहाड त्यत्तिको कहिल्यै अडिग थिएन
जत्तिको तिम्रो सिद्धान्त
बिहान त्यत्तिको सुन्दर कहिल्यै थिएन
जत्तिको तिम्रो माया
हावा त्यत्तिको फुर्तिलो कहिल्यै
जत्तिको तिम्रो कार्यशैली
मुटु त्यत्तिको कोमल कहिल्यै थिएन
जत्तिको तिम्रो ममता
हिउँ त्यत्तिको उज्ज्वल कहिल्यै थिएन
जत्तिको तिम्रो मुस्कान
फूल त्यत्तिको आकर्षक कहिल्यै थिएन
जत्तिको तिम्रो व्यक्तित्व
आगो त्यत्तिको पोल्ने कहिल्यै थिएन
जत्तिको तिम्रो शत्रुप्रतिको दृष्टि
शोषित-पीडित जनताहरुका
हक र हितको लागि सङ्घर्ष गरेर
गौरवभन्दा पनि गौरवपूर्ण
मुत्युलाई अङ्गाल्ने
मेरो देशको प्यारो सहिद !
श्रद्धा त्यत्तिको श्रद्धामय कहिल्यै थिएन
जत्तिको आज तिम्रो सम्झना ।
Filed under: कविता | Leave a comment »