माघ

यल्जी विवश

पटक-पटक
आगो बाल्यौं
डढेलो लायौं शहर
तर केही भएन
यो जाडोले
तराईमा
हिमालमा
र पहाडमा
धेरै ज्यान लिइसक्यो
तर खै जाडो
डेग चलेन
झन् ठिह्याइरहेछ
झन् तुषारो पर्न खोज्दैछ
जाडो खाने माघलाई
जाडोले पो खाइरहेछ ।

हो,
जाडोले माघ खाइरहेछ
जाडोले मान्छे खाइरहेछ
हेर्दाहेर्दै जाडोले
तराई च्यातेर खान्छ रे
पहाड फोरेर खान्छ रे
हिमाल तोडेर खान्छ रे ।

माघ टोलाइरहेछ
माघमा सामर्थ्य छैन
माघमा हिम्मत छैन ।

आज त यस्तो लाग्छ
जाडो खप्लक्कै खाने त्यो माघ
जन्मेकै रहेनछ ।

Advertisements

जाली तिलहरीहरु

विशद

उड्न देऊ दिदी मनभित्रका चरीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

फरियामा आँशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बालि दिन्छ्यौ किन ?
जन्माऊ न फेरि आकाश छुने परीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

दैलोमै जून टेक्छिन्
आवाज त देऊ
सँगसँगै धर्ती फुल्छिन्
कहाँ लाचार छ्यौ
घेर बादल फेर आकाश ए ! नवनारीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

हुन्छ, उज्यालो हुन्छ

बूँद राना

मुक्तिको तिथिमिति गन्दै छ कलैया
‘हुन्छ, उज्यालो हुन्छ’ भन्दैछ कलैया

नौलो बिहानी यौटा जन्माउँछु भनी
नसोध कहिलेदेखि कन्दैछ कलैया ?

दिनरात ज्योति निम्ति जल्दैछ तापनि
निन्दकहरु भन्छन्- ‘ठन्डै छ कलैया’

पोल्यो भने धूँवा भै पिर्ने हुँदा अझै
सिनोका निम्ति खाल्डो खन्दैछ कलैया

म पाठ के सिकाऊँ मुक्ति र त्यागको ?
निष्कर्षमा दधिची बन्दैछ कलैया

दार्बिला गोरुहरु

भुमरी

सिङ जुझाएर
सिङ भँचाएर
हार्न मानेनन्
मारिरहे/मरिरहे
सिङ फुकालेर
अर्काकै खातिर
दार्बिला गोरुहरु ।

इतिहासका चरनहरुमा
अरुले कुल्चिरहँदा
अर्कै तर्फ नारा थापिरहेछन्
ती दार्बिला गोरुहरु ।

डुक्रन अब त
आफ्नै भूमिमा फर्केर
ओ दार्बिला गोरुहरु !

रोयौ कुन पीरले

शरद पौडेल

अधर भिजेको छ आँखाका ती नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले
सर्वाङ्ग भिजेको छ आँखाका ती नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले ।

तिमीले त भन्थ्यौ आँसु शक्ति होइन
तिमी नै त भन्थ्यौ रुनु मुक्ति होइन
तिमीले त भन्थ्यौ पीरमा डुब्नु हुन्न
तिमी नै त भन्थ्यौ शिर यो झुक्नु हुन्न
वचन भिजेको छ आँखाका ती नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले ।

तिमीले त भन्थ्यौ रुने कायर हुन्छ
तिमी नै त भन्थ्यौ भाग्दा मुत्यु हुन्छ
तिमीले त भन्थ्यौ दुःखी जुट्नु पर्छ
तिमी नै त भन्थ्यौ बाधा तोड्नु पर्छ
त्यो आँट मधुरो किन  आँखाका नीरले
बहादुर ए मान्छे ! रोयौ कुन पीरले ।

गाउँदेखि शहरसम्म

सम्झना भुजेल

गाउँदेखि शहरसम्म झर्नुपर्छ गणतन्त्र
नेता, भरिया, किसानीमा पर्नुपर्छ गणतन्त्र

युवा पुस्ता यत्तिकै छ, जोस जाँगर भएकै छ
वृद्धदेखि युवासम्म सर्नुपर्छ गणतन्त्र

यात्रा लामो कठिन तर सफल हुनैपर्छ
बिचमा आउने सुनामीलाई तर्नुपर्छ गणतन्त्र

भावी पुस्ता आउने छ, नयाँ गीत गाउनेछ
ऐतिहासिक विउविजन छर्नुपर्छ गणतन्त्र

कति मन अमिलो छ, मनमा दाग बसेको छ
समायोजन गरी मनलाई भर्नुपर्छ गणतन्त्र

बोनसाई

लक्ष्मी माली

म लहलहाउँदै
कल्कलाउँदै थिएँ
अनायास मेरो स्वच्छन्दता
बाँधिन पुग्यो
मेरा हातहरु
मेरा पाखुराहरु
र गर्दन ।

उसको तारमा बेरिएर
बाँङ्गिन पुगेँ
उसको इच्छामा
उसको निर्देशनमा
मैले आफ्नो आकार बनाएर
उसकै बगैँचा र बैठक कोठामा
शोपिसमा सजिएर
अन्ततः म सुन्दरी बन्न पुगेँ ।